1.2 युकेको जनजीवन परीक्षा दिँदा

यस हातेपुस्तकले तपाईँलाई ‘युकेको जनजीवन’ परीक्षा दिँनको लागि तयारी गर्न सघाउनेछ । परीक्षामा युकेको जनजीवनसँग सम्बन्धित महत्वपूर्ण पक्षहरूका बारेमा २४ वटा प्रश्नहरू हुन्छन् । यी प्रश्नहरू हातेपुस्तकको सबै भागमा आधारित हुन्छन् । ती २४ वटा प्रश्नहरू उक्त परीक्षा सत्रमा संलग्न हुने सबै परीक्षार्थीहरूलाई भिन्नभिन्नै हुन्छन् ।

युकेको जनजीवन परीक्षा प्राय: अङ्ग्रेजी भाषामा लिइन्छ तर यदि तपाईँ वेल्स वा स्कटिश गेलिक भाषामा दिन चाहनु हुन्छ भने पनि विशेष व्यवस्था गर्न सकिनेछ ।

दर्ता भएको र अनुमतिप्राप्त ‘युकेको जनजीवन’ परिक्षा केन्द्रमा मात्र तपाईँले परीक्षा दिन सक्नुहुन्छ । युकेभरि लगभग ६० वटा परीक्षा केन्द्रहरू छन् । तपाईँले परीक्षाको लागि www.lifeintheuktest.gov.uk माअनलाइनमात्र दर्ता गर्न सक्नुहुन्छ । तपाईँले अन्य कुनै पनि संस्थामार्फत परीक्षा दिनुहुने छैन किनकि युके बोर्डर एजेन्सीले दर्ता भएको परीक्षाकेन्द्रबाट प्राप्त प्रमाणपत्र मात्र स्वीकार गर्दछ । यदि तपाईँ आइल अफ म्यान अथवा च्यानल आइल्याण्डमा बस्नुहुन्छ भने तपाईँको लागि युकेको जनजीवन परीक्षा दिनको लागि फरक व्यवस्था हुनेछ ।

परीक्षाको लागि दर्ता गर्दा निर्देशन ध्यानपूर्वक पढ्नुहोला । आफ्नो विवरण सही तरीकाले भर्नुहोला । तपाईँ परीक्षा दिन जाँदा परिचय खुल्ने केही कागजात र तपाईँको रहेको ठेगानाको प्रमाण पनि आवश्यक पर्नेछ । तपाईँसँग यी कुराहरू नभएको खण्डमा तपाईँले परीक्षा दिन पाउनु हुने छैन ।

1.2.1 यस हातेपुस्तकलाई कसरी प्रयोग गर्ने

तपाईँ युकेको जनजीवन परीक्षामा उत्तीर्ण हुन जान्नुपर्ने सबै कुरा यस हातेपुस्तकभित्र समेटिएका छन् । प्रश्नहरू पुरै पुस्तकमा आधारित हुनेछन्, जसमा यो परिचय पनि पर्दछ । तसर्थ पूरै पुस्तक ध्यानपूर्वक (thoroughly) पढ्नुहोला । हातेपुस्तक तयार पार्दा यसमा प्रयोग भएको भाषा ESOL प्रवेश तह ३ वा त्यसभन्दा माथिल्लो तहको अङ्ग्रेजी भाषा भएका जो कोहीले बिना कुनै समस्या पढ्न सकून् भन्ने कुरामा ध्यान दिइएको छ ।

हातेपुस्तकमा दिइएको शब्दसङ्ग्रह (glossary) मा केही प्रमुख शब्द र वाक्यांशहरू समेटिएका छन्, जुन तपाईँको लागि उपयोगी हुनसक्छ ।

‘Check that you understand’ (तपाईँले बुझे/नबुझेको जाँच्नुहोस्)’ बाकसहरू मार्गदर्शनको लागि संलग्न गरिएको छ । ती बाकसहरूले तपाईँले बुझ्नुपर्ने विशेष कुराहरूको पहिचान गर्न सघाउनेछन् । बाकसमा हाइलाइट गरिएका वुँदाहरू जानेर मात्र परीक्षा उत्तीर्ण गर्न पर्याप्त हुँदैन । तपाईँले पुस्तकमा दिइएका सबै कुराहरू राम्ररी बुझेको हुनुपर्छ । तसर्थ दिइएका जानकारी ध्यानपूर्वक पढ्नुहोला ।

1.2.2 अन्य थप जानकारी कहाँबाट प्राप्त गर्ने

तपाईँले थप जानकारी निम्न स्थानहरूबाट प्राप्त गर्न सक्नुहुन्छ:

  • आवेदन प्रक्रिया र भर्नुपर्ने फारमहरूको बारेमा जानकारी पाउनको लागि युके बोर्ड एजेन्सीको वेबसाइट (www.ukba.homeoffice.gov.uk)
  • परीक्षा र परीक्षा दिनको लागि स्थान बुक गर्ने बारेमा जानकारी प्राप्त गर्नको लागि ‘युकेको जनजीवन’ परीक्षाको वेबसाइट (www.lifeintheuktest.gov.uk)
  • ESOL पाठ्यक्रम र तपाईँको क्षेत्रमा कसरी यो पाठ्यक्रम पुरा गर्ने भन्ने बारेमा जानकारी पाउनको लागि Gov.uk (www.gov.uk)

Check that you understand

  • बेलायती समाजमा अन्तर्निहित मान्यताको प्रादुर्भाव
  • बेलायती जनजीवनको आधारभूत सिद्धान्त
  • स्थायी बासिन्दा भएपछि आउने जिम्मेवारी र स्वतन्त्रता
  • स्थायी बासिन्दा वा नागरिक बन्ने प्रक्रिया

This study guide is also available in: arArabic beBengali drDari zh-hansChinese (Simplified) enEnglish guGujarati hiHindi pshPashto plPolish paPunjabi taTamil trTurkish urUrdu